स्याङ्जा,
आँधिखोला को सेरोफेरो, पहाडबाट गडगडाहटका साथ
बगेर आँधिखोला भेट्न आइपुग्ने खहरेहरू । आँधिखोला को किनारको त्यो फाँट र त्यो
फाँटमा बयली खेल्ने धानका बाला । त्यही धान खेतमा मेलापात गर्ने, घाँस काट्ने र दैनन्दिन चलायमान गराउने मैले
चिनेकी एक जना भाउजू हुन् ‘मथुरा’ ।
मेरो यौटै स्कुलमा पढ्ने साथी मन प्रसाद ‘मने’ कि सहोदर भाउजू हेर्दा बिछट्ट राम्री ती भाउजू
आइए सम्म पढेकी मान्छे हुन् ।
त्यो समयमा म जत्रै या मेरै उमेरको केटो हो मने । म स्कुलमा
चार कक्षामा भर्ना हुँदा मने पाँचमा पढ्थ्यो । अगाडी पट्टि लरक्क पारेको कपाल थियो
मनेको । पछाडि पट्टि कुखुराको पुच्छर जस्तो कपाल लामो राखेर हिरो स्टाइलमा जुल्फी
हल्लाउँदै स्कुल आउँथ्यो मने । घर नजिकै स्कुल भएको कारण उसले झोला ल्याउँथेन ।
हातमै किताब बोकेर स्कुल आउँथ्यो उ। हाम्रो पनि घर नजिकै भएको भए त हातमै किताब
ल्याउन पाइन्थ्यो झोला बोक्ने झन्झट गर्न पर्थेन । अर्को ईर्ष्या गर्ने कुरा यही
थियो मनेको ।
मनेका बा आमाका दुई भाइ छोरा मात्र थिए छोरी थिएनन् । जेठो
छोरा अलि ठुलै भैसकेको भारत तिर काम गर्थ्यो । मनेको दाइ दिल्लीको लाहुरे थियो ।
दाइ लाहुरे थियो त्यसैले अहिले मने, मनेकी भाउजू र बा आमा
गरेर चार प्राणी त्यो घरमा बस्दथे । मानेकी भाउजू निकै राम्री थिइन । हाम्रो स्कुल
नजिकै रहेको आँधिखोला किनारको गौ चरनमा उनीहरू बस्तुभाउ चराउन आउँथे । हामी
स्कुलबाट फर्कँदा कहिले मनेकी भाउजू आँधी खोलामा लुगा धोइरहेकी हुन्थिन कहिले
त्यतै खोला किनारको खेतमा धान गोडिरहेकी हुन्थिन । जे होस् दैनिक जसो मनेकी
भाउजूलाई देख्न पाइन्थ्यो । भाउजू ले अपार माया गर्थिन मनेलाई ।
माने सानै थियो । पाँच कक्षामा पढ्ने मनेको होमवर्क गर्न पनि
भाउजूले सिकाउँथिन त्यसैले होमवर्क नगरेर माने ले कहिल्यै मास्टरको कुटाइ खानु
पर्दैनथ्यो । हामीलाई पढाउने सरहरू भन्दा मनेकी भाउजूले धेरै पढेको हल्ला थियो
त्यो कुरामा मने सधैँ घमन्ड गर्दथ्यो ।
पढाइमा इमानदार र घरमा पढ्न सिकाउने मान्छे भएपछि मनेको पढाइ
राम्रो थियो । रिजल्टमा पनि राम्रै नम्बर ल्याएर पास हुन्थ्यो ।
आमा सँग भन्दा भाउजू सँग डुलिरहन्थ्यो मने । बिदाको दिन खेत
खलियान, पाखो
बारी खरवारि या बस्तुभाउ चराउने काममा होस् या आँधिखोलामा भाउजूले लुगा धुँदा होस्
उ भाउजू सँगै हुन्थ्यो । बेलुका भाउजू घरधन्दा मा लागिरहँदा उ पढिरहेको हुन्थ्यो यस्तैमा
कहिलेकाहीँ उ भाउजूकै ओछ्यानमा निदाइदिन्थ्यो । बडो सकस सँग उचालेर अर्को ओछ्यानमा
सुताउँथिन भाउजूले ।
मानेका दाइ इन्डियाबाट बेला बेला बिदामा आइरहन्थे । यो दसैँमा
पनि मानेका दाइ आए यस पटक उसको नयाँ घर बन्यो ।
टिनको चम्किलो छानो भएको मनेको घर तयार हुँदा म छ कक्षामा
पढ्थेँ मने सातमा पढ्थ्यो । घरमा भुईँ तलामा दुइटा कोठा थिए । एउटा कोठामा
भान्छा थियो र अर्को कोठामा बा आमा सुत्थे । माझी तलामा तिन वटा कोठा थिए ।
बार्दलीको बाटो भएर बाँके बनाएको कोठामा जाने गरी बनाएको थियो । त्यो कोठा दाइ
भाउजूको थियो । मेरो हात समातेर यसरी मनले घरको कोठा चोटा चाहर्दै देखाएको थियो ।
माझकै तलामा मनेलाई पनि बेग्लै कोठा बनाइदिएका रहेछन् । उसको
कोठामा दराज थियो पढ्ने टेबल पनि बनाइदिएका थिए । उ कोठामा भन्दा बार्दलीमा बस्न
रमाउँथ्यो । टहटह लागेको जुनको किरणमा सलल बगेको आँधिखोला र जुनेलीमा चम्किरहेको
बगर हेरेर मक्ख पर्थ्यो मने । घरको सबै भन्दा माथिल्लो तलामा अन्नपात भण्डारण
गर्ने ठाउँ छुट्टाइएको थियो ।
बार्दलीमा बसेर पढ्थ्यो मने । भाउजूले राम्रो सँग पढाउँथिन ।
आइए पास गर्नुभाछ हाम्री भाउजू ले.. मनेले गर्व साथ सुनाउँथ्यो । हरि सर त जम्मा
एसेल्सी ..मनेकी भाउजू सर भन्दा धेरै पढेकी ! आहा हाम्री पनि त्यस्तै सिपालु भाउजू
भएकी भए भन्ने मलाइ पनि लाग्थ्यो ।
समय बित्दै गयो समय सँगै आँधिखोलामा पानी पनि निकै बग्दै गयो
। निमावि सम्मको हाम्रो त्यो स्कुलको पढाइ सकियो । म अर्कै स्कुलमा आठ कक्षा पढ्न
गएँ । मने अघिल्लै वर्ष आठ पढ्न अर्कै स्कुल गइसकेको थियो । त्यसपछि भने मने सँग
मेरो भेटघाट भएन । स्कुलका साथीहरू स्मृतिमा मात्र रहेका थिए ।
मैले नौ कक्षामा पढ्दा हाम्रो गाउँमा, स्कुलमा, बाटोघाटो र पँधेरामा एउटा हल्ला फैलियो । “देवर
भाउजू बिग्रेको” त्यो खबर सुख्खा याम को डढेलो जसरी फैलिएको
थियो । जहाँ जो दुई जना उभिएका छन् त्यही बारेमा नै कुरा गरिरहेका थिए । “भाउजूले आफ्नै छोरो जत्रै बालख देवरको पेट बोकी अरे” हल्लाको सार यत्ति थियो ।
सुरुमा गाईं-गाईं गुईं गुईं गरेको
सुनियो । पछि लौ घरबाट निकाले अरे भन्ने हल्ला फैलियो । त्यो समयमा मने दशमा
पढ्थ्यो । हाम्रो स्कुल फरक थियो ।
भएछ के भने छेउ पट्टिको कोठामा मनेकी भाउजू सुत्ने गर्थिन
भाउजूको कोठाको ठ्याक्कै बाहिर बार्दलीमा मने पढ्न बस्दथ्यो । भाउजू आइए पास
मने भर्खर दसमा पढ्दै गरेको । अहिले पनि हिसाब भूगोल र इतिहासमा मनेलाई भाउजूले नै
सहयोग गर्थिन ।
पहिला जस्तै अहिले पनि पढ्दा पढ्दै मने भाउजूकै ओछ्यानमा
निदाईदिन्थ्यो । पाँच या छ कक्षामा पढ्दा जस्तो भाउजूले उसलाई उचालेर अर्को
ओछ्यानमा सार्न सक्थिनन् । त्यहाँ कुनै आकर्षण को विकास भएको थियो या त्यो सामीप्यता को दुरुपयोग
भएको थियो या अन्य केही परिबन्द थियो मैले आङ्कलन गर्न सक्दिन । मने ले भाउजू लाई “आमा सरह” देख्न सकेन या भाउजूले मने लाई “छोरा सरह” व्यवहार गर्न सकिनन् र यो परिस्थिति उत्पन्न भयो होला-अहिले म एकान्तमा बसेर कल्पना गरिरहन्छु ।
बाल्यकालमै व्यवहारिकताको बोझले थिचिएको मने अहिले कहाँ होला, के गर्दै होला,
मथुरा भाउजू र मने सँगसँगै होलान् कि अलग भए होलान् ? बापतिको आरोपमा सात डाँडा कटाइएका उनीहरू फेरी फर्केर आँधी खोला को सेरोफेरोमा आउन पाए होलान् कि अझै सम्म पनि उनीहरूलाई घर फर्कन बन्देज
नै होला? यस्तै यस्तै प्रश्न मनमा खेलिरहे..
र, मैले आज अचानक मनेलाई सम्झिएँ ।
फोटो-इन्टरनेट (काल्पनिक)
No comments:
Post a Comment