हास्य भिडियो या नि हास्य रस मिसाएर
गरिने आलोचनात्मक भिडियो हरूलाई रोस्ट भिडियो भन्ने चलन छ । कुनै पनि सिनेमा
म्युजिक भिडियो या कुनै पनि चिज माथि गरिने व्यङ्ग्यात्मक आलोचना नै रोस्ट हो । यो
चलनको सुरुवात अमेरिकन हरूले गरेका थिए । बेलायत चाइना भारत हुँदै यो प्रचलन संसार
भरि नै फैलिई सकेको छ । मनोरञ्जनको क्षेत्रमा अहिले आएर रोस्टिंग अपरिहार्य जस्तै
भैसकेको छ ।
सामान्य कार्यक्रम सञ्चालक लाई होस्ट
भनेझैँ आलोचनात्मक व्यङ्ग्य गरेर भिडियो बनाउने मान्छे लाई ‘रोस्टमास्टर’ भन्ने चलन छ । भारतमा त रोस्ट को प्रभाव यस्तो सम्म छ कि ठुलो
लगानीका सिनेमा मेकरहरूले लोकप्रिय रोस्ट रोस्टमास्टरलाई आफ्नो सिनेमा को
रोस्ट गर्न लगाउँछन् । पैसा तिरेर नै रोस्ट गराउने प्रचलन पनि छ । सिनेमा समालोचक
पत्रकारहरू पनि अहिले रोस्ट गरिरहेको भेटिन्छन् । एकजना प्रख्यात सिने आलोचक छन्
भारतमा केआरके भन्ने । उनले सिनेमा माथि आलोचना गर्ने क्रममा कडा खाले रोस्ट
गरिरहेका हुन्छन् ।
रोस्ट मात्रै गर्ने ठुला टेलिभिजन
कार्यक्रम पनि सञ्चालनमा आएर निकै लोकप्रिय भएका थिए । कलर्स टिभीमा आउने ‘कमेडी नाइट बचाओ’
मा भारती सिहं र कृष्ण अभिषेक लगायत कलाकारहरूले कलाकारलाई पाहुनाको
रूपमा बोलाएर उनीहरूकै अगाडी उनीहरूका कमजोरीहरू छताछुल्ल पारेर उनीहरूको आलोचना
गर्ने गर्दथे –त्यसलाई ‘खुट्टा तान्ने
या हिन्दीमा ‘टाङ खिचाई’ गर्ने भन्ने
चलन रहेको देख्न सकिन्छ –त्यो कार्यक्रम बन्द भए पनि युट्युब
मा त्यो भिडियोहरू प्रशस्त देख्न सकिन्छ –त्यसरी टाङ खिचाईमा
परेका कलाकारहरू कोही पनि रिसाउने या कसैले पनि अपमानित भएको महसुस गर्दैनन् सबैले
हाँसेर आफ्ना कमजोरीहरू स्विकार्छन् र मनोरञ्जन गर्छन् !
हिन्दी सिनेमा जगतमा वितरण गरिने
दर्जनौँ ठुला अवार्ड कार्यक्रमहरूमा यौटा मुख्य सेग्मेंट नै रोस्ट को राखिएको
हुन्छ । फ्लप भएका सिनेमाहरूको बारेमा, फ्लप हिरो या हिरोनिको बारेमा, डुबेको लगानीको बारेमा अथवा आशा अनुरूप बक्स अफिस कलेक्सनमा सफल नभएका
फिल्म र त्यो फिल्म सँग सम्बन्धित सबैलाई रोस्ट गर्ने चलन छ । अभिषेक बच्चनको पहिलो फिल्म रिफ्युजी लाई पब्लिकले रिफ्युज गरेको भनेर
रितेस देशमुख गरेको रोस्टका क्लिपहरू अहिले त्यो फिल्म रिलिजको एक्काइस वर्ष पछाडि
पनि त्यो फिल्म को रोस्ट हुन छोडेको छैन र ति क्लिपहरु हिट भएका छन् । रितेसले त्यसो भनिरहँदा अभिषेक बच्चनले
हाँसेरै प्रतिक्रिया दिएको देख्न सकिन्छ –त्यो उनीहरूको
आलोचनात्मक चेतको कुरा हो । कुन कुरा साधारण आलोचना हो
र कुन ह्युमर हो भनेर छुट्याउन सक्ने चेत को विकास उनीहरूमा भएको देख्न सकिन्छ ।
त्यति मात्र होइन क्यारिकेचर या
मिमिक्रिको नाममा अमिर खान र साहरुख खान अनि अमिताभ बच्चन समेत लाई छोड्दैनन्
भारतीय रोस्टरहरू । अहिले युट्युब मा रोस्ट भिडियो बनाउने क्यारीमिनाती, आशिस चंचलानी लगायत
युवाहरूका करोडौँ फ्यान छन् । उनीहरूको च्यानलमा तिस मिलियन को हाराहारीमा त फलोअर
नै छन् । अहिले भर्खरै उदाएकी रोस्ट मास्टर सोनियाप्पा को च्यानलमा समेत एघार लाख
फलोअर पुगिसके –यसबाटै अनुमान लगाउन सकिन्छ कि रोस्ट को
प्रभाव कस्तो छ भनेर ।
नेपालमा भने कलाकारको सेन्स अफ ह्युमर
एकदम कमजोर रहेको देख्न सकिन्छ । यौटा सिनेमा को रोस्ट गरेको भनेर एक जना रोस्टमास्टर
लाई प्रहरीले पक्रेको विषयले पनि बजार तातेको थियो । पछि उनी छुटे र अहिले सम्म
पनि रोस्ट भिडियो बनाउन मै सक्रिय छन् । अर्का रोस्टर छन् ‘बिक्की रोस्टर’
उनको च्यानल मा पनि चार लाख जति फलोअर छन् । रोस्ट मन पराउने भएरै
त्यति धेरै फलोअरले उनको च्यानल पच्छ्याएको हुनुपर्छ ।
तर नेपाली कलाकारले व्यङ्ग्यात्मक
आलोचनाले पनि उत्पादनको प्रचार हुन्छ भन्ने कुरा बुझ्दैनन् । त्यति मात्र होइन
नेपाली कलाकारले उनीहरूको गीत सिनेमा या कुनै पनि भिडियो को आलोचना नै नहोस् भन्ने
चाहन्छन् । एक पटक गरेको रोस्ट वर्षौँ सम्म बिर्सदैनन र भेटमा तैँले मलाइ यस्तो
भनेको होइन? भनेर दुख मानी रहन्छन् ।
भारत मा त अझ आधाआधि माँ बहेन को गाली
दिने, सफ्ट
गालीहरू पुरै र फोहोर गालीहरू आधा बिप हालेर समेत मान्छेलाई नै गाली गरेर रोस्ट
गर्ने चलन छ । नेपालमा त्यसो भयो भने त साइबर क्राइम लाग्ने सम्भावना देखिन्छ । तर
अब समय आएको छ कि सर्जकहरूले उनीहरूको सिर्जनाको लागि गरिएको रोस्ट लाई व्यङ्ग्यात्मक
आलोचना हो भनेर सहज रूपमा लिनु पर्छ । त्यो विरोध होइन, आलोचना
पनि होइन । कलाकारलाई ठुलो बनाएर चाकडीको भाषामा ‘तपाइको
गीत धेरै राम्रो छ या तपाइको भिडियो धेरै राम्रो छ’ भन्ने
अभिव्यक्ति दिनु भन्दा त्यसका कमजोरी हरू लाई या सामान्य प्रस्तुति लाई समेत
व्यङ्ग्य गर्दै चुट्किला सुनाए जसरी गीतको बारेमा तारिफ नै गरेको हो त्यो भनेर
बुझ्नु पर्दछ ।
मैले केही वर्ष अगाडी बद्री पंगेनी चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको
धानको चामल धानेको चिउरा भन्ने गीतलाई त्यस्तै मजाकिया शैलीमा आलोचना गरेको थिएँ ।
त्यसमा मेरा मुख्य चार वटा कुरामा व्यङ्ग्य गर्ने सोच थियो । पहिलो कुरा बद्री
पंगेनी र चन्द्र शर्मा दुई जनाले स्वर भर्ना रहर किन गरेको ता कि त्यो गीतको भावले
दुई गायक को स्वर डिमान्ड गरेको थिएन । दोस्रो भिडियो मेकिंग मा भएको कमजोरी कारण
डुब्न लागेको लगानी । तेस्रो नृत्य प्रधान भिडियोमा नन डान्सर नायक को
कास्टिंग र तेस्रो गायिका आफै भिडियो खेल्न गरेको रहरले भिडियो माथि भएको अन्यायको
बारेमा चर्चा गर्न लागेको थिएँ ।
अरू बोलिसकेर मैले गायिका कला लम्साल को गेट अप को बारेमा बोल्न खोज्दा उनको
टाउकोमा मजेत्रो बेरेको चित्र ठ्याक्क अगाडी आयो ! त्यसरी टाउकोमा मजेत्रो कति
बेला बेर्छन् त ? ठ्याक्क याद आयो मेलापात जाँदा
वा सुत्केरी हुँदा !! मेलापात जाँदाका मजेत्रा मैला हुन्छन् त्यो नयाँ मजेत्रो
थियो, मेकअप ले टिलिक्क परेको अनुहार माथि टाउकोमा मजेत्रो –मैले ‘सुत्केरी
लुक्स बनाएर न नाचेको भए र गीतमा प्रोफेसनल डान्सर लाई लिएको भए भिडियोको क्वालिटी
नै अर्कै बन्ने थियो ... यत्ति शब्द प्रयोग गरेको थिएँ ! यो सम्पूर्ण रूपमा
व्यङ्ग्य थियो यसमा कतै कसैलाई व्यक्तिगत रूपमा प्रहार गर्न खिजिएको थिएन तर पनि
आज पर्यन्त त्यो गीतका कलाकारहरूले बेला बेलामा तैँले हाम्रो गीतलाई नराम्रो भनेको
होइनस् ? तैँले मलाइ सुत्केरी लुक्स भनेको होइनस् भनेर चित्त
दुखाइरहनुहुन्छ !
म वहाँ सम्पूर्ण कलाकार सँग भन्न चाहन्छु, आदरणीय चन्द्र शर्मा दाजु, बैनी कला
लम्साल, निखिल दाइ लगायत निर्देशक शिव बिक लगायत सम्पूर्ण
लाई त्यो ह्युमर मात्र थियो अन्यथा न बुझिदिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।
रोस्ट भिडियो
No comments:
Post a Comment