हामी भाग्ने की नभाग्ने मै
दोधारमा थियौं । मोबाइल फोन थिएन । चिठी समयमा पुग्थेन । चिठी
पठाउने यौटै बाटो भाउजू हुनुहुन्थ्यो तर अचेल मेरो चिठी च्यातेर फाल्दिन
थाल्नुभएको रहे, या पढेर बा आमालाई सुनाइदिन थाल्नु भएको
थियो । केटीको घर नजिकै यौटा कर्डलेस फोन थियो । त्यसमा
फोन गर्यो बोलाइदिने ले सबै कुरा लिक गर्दिने । त्यति मात्र होइन त्यो कर्डलेस फोनमा बोलेको एफ एम रेडियो ले टिपेर झन्
जात्रा । भाग्ने सल्लाह त गरियो तर त्यो कुरा नै लिक
भएर हाम्रो प्लान ले फेल खायो । म गल्यांग बजारमा पर्खेको पर्खेई भएँ । पर्खँदा पर्खँदै केटी घर मै र म गल्यांग मा पक्राउ परियो ।
लामो तिकडम, जालझेल र
रिसइवी, भनाभन अनि बदलाहरू सकिएपछि उनीहरूले अब छोरी घरबाटै
कन्यादान गरेर दिनेभए । राम्रै संग बिहेको जग्गे सुरु
भयो । सासु ससुराले हुर्काएर बढाएकी फुल जस्ती छोरी
मलाइ दिने भए मेरो लागि त्यही ठुलो कुरा थियो । आफूले
माया गरेकी मान्छे सँग बिहे हुनु मेरो लागि ठुलो उपलब्धिको कुरा थियो मलाइ अरू
केही चाहिएकै थिएन ।
तर बा को अनुहार
अँध्यारो थियो । एका
दुई साथी बोलाउनु भएको रहेछ बा ले । उनीहरूले बिचमै
बिहे छोडेर हिँडे, बा झन् अध्यारिनु भयो । मैले कुरा बुझ्नै सकिरहेको थिइन । यस्तो केही
हुन्छ भन्ने परिकल्पना गरेकै थिएन मैले । केही बेरमा
बिहे सकियो । जेठानले बैनीलाई बोकेर डहरकी ठुलीको घर
अगाडी रोकिराखेको जिप सम्म पुर्याइदिनुभयो । म पछि पछि लागेँ ।
दुलही लिएर हामी घर
तिर लाग्यौँ ।
तर मलाइ अत्यन्तै माया गर्ने मणि भिनाजु मेरो घर सम्मै नआई वालिङबाटै बिदा हुनुभयो
“म त गएँ है केटा..अब पन्चमूल सम्म किन पुग्नु र" भिनाजुले यति भनिसकेपछि बुढा रिसाएको या मेरा बा को त्यो अवस्था सँग
दुखी भएको बुझ्न मलाइ झन् गाह्रो भयो । “दक्षिणा दिन पनि पाइन भिनाजु” भनेँ ... ठिकै छ केटा भनेर वालिङ घुम्तीबाट
बुढा कटहरबोटे तर्फ ओरालो लाग्नुभयो ।
अब बाँकी हामी सात आठ
जना रहियो जन्तीमा । म, श्रीमती,
बा र गैरापाटे ड्राइभर माइला काका चार जना । दुई जना भाइ, सिता दिदी र अरू को को थिए सम्झना आएन
। बा ले वालिङ मोड मा पुगेपछि “म अड्डा तिर जान्छु यहाँ
अब स्याङ्जा जाने गाडी खोज्दे माइला” भनेर ड्राइभर काकालाई भन्नुभयो । बा को त्यो बोलीमा रिस र आक्रोश थियो । छोराले आफूले भनेको मानेन र आफ्नो
खिलाफ गएर बिहे गर्यो भन्ने पिडा पनि हुँदो हो तर बुढा घरै जान्न भन्न थाल्नुभयो,
त्यो बेला बा स्याङ्जा तिरै काम गर्नुहुन्थ्यो बा को बसाई उतै थियो ।
दुलही नभित्र्याई त हजुर जान
हुँदैन दाइ...घर त पुग्नै पर्छ ! ड्राइभर काकाले बा लाई सम्झाउनुभयो । हामी आँधी
खोला को किनारै किनार अमले पुग्यौँ । ल, दुर्गाले दुलही
ल्याएछ ! अमले ज्योतिका बा ले बधाई दिए । बर्खाको समय हिलाम्य खेतका आलीको बाटो
फेरी हामी च्याँउदी खोलाको किनारै किनार अगाडी बढ्यौँ
। दुलही अगाडी लगाएर म हिँडी रहेछु, जम्मा दश कक्षामा पढ्ने केटी सानै थिई । घर तिरका सबैले सपोर्ट नगरेको
बिहे, माइतीले दिदी त्यही घरमा भएको भनेर लोकन्ती समेत
पठाएनन् । केटी आत्तिएकी थिई, जसोतसो
घर पुगियो ।
त्यो समयमा हाम्रो
गाउँमा बिजुली पुगेकै थिएन । घर पुग्दा घर अँध्यारो थियो । बिजुली
बाल्ने ठाउँबाट गएकी केटी त्यहाँ टुकी देखि, झन् आत्तिई झैँ लाग्यो । भाइले आँगनमा गुन्द्री ओच्छ्यायो, हामी गुन्द्रीमा
बस्यौँ । बा आँटी मा गएर ड्याम्म आफ्नो कोठाको ढोका
लगाउनुभयो र सुत्नुभयो । बा त्यसरी सुतेपछि आमाले
हामीलाई भित्र्याउने तरखर भन्दा अगाडी बा लाई फकाउन या के भएको बुझ्नको लागि होला
अलिकति समय लगाउनुभो । समय घर्कँदै गयो हामीलाई
भित्र्याउने सुरसार देखिएन । हामी निराश दुई जना
डराउँदै आँगनमा पर्खी रह्यौं ।
भाइको बिहे भयो रे भनेर ठुली
दिदी हुत्तिँदै पिपल डाँडाबाट आउनुभएछ । ठुली दिदीलाई देखेपछि अलि अलि सास पलायो
मेरो । त्यहाँ त्यसरी दुलाहा दुलहीलाई आँगनमा राखेको, बा माथि गएर
सुतेको र घर अँध्यारो देखेपछि दिदीलाई कुरा बुझ्न बेर लागेन । यसै त छोड्न भएन
भनेर दिदी “भाइ बुहारीलाई भित्र्याउन आइपुगेँ है” भन्दै अगाडी सर्नुभयो । मलाइ कता
कता रुन आउला जस्तो भयो । अन्तिम अवस्थामा कसैको साथ पाएर अब त बाचियो बा भनेजस्तो
अलिकति सास आयो । दिदीले भाइहरूलाई झुम्रामा मट्टितेल हाल्न लगाएर सजिवनका
पोथ्रामा चिराग बनाओ भनेर लगाउनु भयो भाइहरूले आँगन मा चिराग बाले घर उज्यालो भयो
। मेरो मन पनि केही त उज्यालियो तर भर्खर आएकी बेहुलीको मन कति अँध्यारो भयो होला त्यता सोचेर म फेरी अध्यारिएँ ।
जसो तसो बेहुली भित्र्याउने
काम सकियो । भुईँ तल्लाको कोठामा आमा र दुलही औँठी भेटाउने खेल खेले । त्यो के के
चलन हो फटाफट पुरा भयो । त्यतिन्जेल खाना पाकेको रहेछ खाइयो । म त्यतिन्जेल भित्र
बेहुली बसेको कोठा मै थिएँ । अनि दिदी बैनी र आमाहरू भित्र बेहुली सँग र बाहिर बा
सँग भाइहरू .. बस्ने र गफ गर्ने स्थान विभाजित भैसकेको थियो । मेरी आफ्नै माइली
भाउजू जो मेरो श्रीमतीकी आफ्नै दिदी हुन् उनी समेत अँध्यारो मुख लगाएर यता त्यता
डुलेको देख्छु ।
म कता जाम ? को सँग गफ
गरूँ ? शुद्धि बुद्धि हराएर मेरा ओठ तालु सुकेका थिए । बाहिर
छेडखानी सुरु गरिसक्नुभएको थियो बा ले । त्यही घरमा माइलाले बिहे गर्दा त्यत्रो
दाइजो ल्यायो मेरो इजेत राख्यो
यसको बिहेमा त्यही घरमा यस्तो भयो इत्यादि – माइला दाइको
मागी र मेरो प्रेम विवाह थ्यो । ससुरालीले त्यसरी खासै फरक त गरेका होइनन् फेरी पनि बा ले सबैको अगाडी त्यसो भनेको कत्ति
निको लागेन । बाहिर गएर बा सँग कुरा गर्छु भनेर उठ्न लागेको श्रीमतीले च्याप्प हात
समातेर अहिले यो विषयमा केही बोल्न हुँदैन भनेर बस्न आग्रह गरिन । मैले उसलाई केटाकेटी
नै सोचिरहेको थिएँ तर केटीले व्यवहारिकता देखाई । उसको इसारा बुझेपछि
म थचक्क त्यहीँ बसेँ । स्वास्नी छोड्नै नसक्ने भैसक्यो क्याहो साईलो
? बा ले बाहिर बाट वचन ले हानेको हान्यै गर्नुभयो !!
जसो तसो उज्यालो भयो
। उज्यालो नहुँदै भाउजू ले श्रीमतीलाई उठाएर दैलो कुचो गराएर पन्चमूल पँधेरोमा
नुहाई धुवाई को लागि लगिसक्नुभएछ, म बसिबसी निदाएको
थिएँ ! उठेँ र म पनि पँधेरा तिर लागेँ ! बोल्ने कुनै विषय नै थिएन । हाम्रो प्रेम
विवाह अपमान र हेला अनि वचन हरूले छिया छिया भएको थियो । पुलुक्क श्रीमतीको मुखमा
हेरेँ । केटी मुसुक्क हाँसी । यति विधि हुँदा पनि हाँसिरहेको देख्दा भने केही
सन्तोष लाग्यो । हामी पँधेराबाट फर्केर घर आयौँ।
घर आएर बुहारीले ढोग
गर्नुपर्ने । बा लाई ढोग्ने बित्तिकै बा ले ‘”बुहारी लौ त यो मेरो औँठी सोझ्याइदेऊ यो बाङ्गो भयो” भनेर बुहारीको हातमा यौटा
कच्याककुचुक परेको औँठी थमाउनु भयो, केटी त्यो औँठी लिएर
भित्र पसी । नियालेर हेरी । त्यो त्यही औँठी थियो हिजो उसका बा ले सम्धीलाई
लगाइदिएको । औँठी सानो भयो भनेर त्यसरी कुच्च्याउनु पर्ने के थियो र त्यस्तो ।
फेरी उसलाई नै बनाइदे भनेर दिनुपर्ने – त्यो औँठी हेरेर
केटीले आँसु बगाई र औँठी मलाइ देखाई । बा को बेहोरा मलाई ननिको लाग्यो तर म सँग
त्यो कुराको प्रतिवाद गर्ने या बोल्ने हिम्मत थिएन र बोल्ने अवस्था पनि थिएन,
कसरी बोल्ने के बोल्ने भन्ने शुद्धि सबै हराएको थियो ।
बिहानको खाना खाएर
हामी दुरान फर्काउन भनेर गयौँ । उता माइत पुगेर केटीले आफ्ना चाहिने लुगाफाटो
प्याक गरी । त्यो रात हामी ससुरालीमै बसियो र भोलिपल्ट बिहानको गाडी चढेर
काठामाण्डु आइयो । अनि दसैँ को दसैँ एक या दुई दिनको लागि मात्र घर जाने हाम्रो
परम्परा लामै समय चल्यो ।
बिहे भयो, छोराछोरी जन्मे, पछि सम्मै मेरी श्रीमतीको यौटै
मात्र गुनासो रह्यो –अरू जे जस्तो भएको भए पनि बिहेमा हजुरले
यौटा क्यामरा त ल्याउनु पर्थ्यो ! भिडियो खिच्ने कत्रो रहर थियो बिहेको, आखिरमा फोटो समेत खिच्न पाइएन । फोटो नै नखिची बिहे गर्ने त हामी मात्र
होला है ...! बिहेको जग्गेमा वरमाला लगाउँदै गरेको यौटा फोटो छ हाम्रो त्यो पनि
उतै ससुराली तिरकै कसैले खिचिदिएर हामीलाई पछि पठाइएको थ्यो, त्यो पनि आज फेला
परेन ! बिहेको दिन क्यामरा लान नसकेको गुनासो आज पर्यन्त गर्छिन् तर बिहेका दिन के
के भएको थियो त्यो उनले बिर्सेको हो या म सँग गुनासो नगरेको हो त्यस बारेमा चर्चा
गर्दिनन् !!
दुख र
सङ्घर्षको इतिवृत्त धेरै लामो छ, केही अर्को फरबरी चौधको लागि
बचाउँदै आजलाई बिदा....
क्रमशः
कला पंगेनी ले मेरो शब्दमा पशुपती शर्मा संग गाएको गीत "जोगाउनु छ कालापानी" !!
बिहेको ७ बर्ष पछिको फाइल फोटो !!
No comments:
Post a Comment