००लघुकथा००
!! उखु चोर र सजाय!!
कालिगण्डकी नदीको किनारमा ठुलो उखुबारी थियो। त्यो बारीमा अनेक थरी जातका उखुहरू थिए । कोही कालो उखु, कुनै सेतो उखु , कुनै सामान्य उखु , कुनै पातलो दुब्लो उखु , कुनै मोटो उखु , कतै छिप्पिएको उखु त कतै चिचिलो उखुले त्यो उखुबारी भरिएको थियो ।
गाउँमा उखु चोरहरू सक्रिय थिए । साँझ परेपछि सुटुक्क उखुबारी भित्र छिर्ने र मन परेको उखुको लाँक्रो भाँचेर त्यसलाई नङ्ग्याउँदै बाहिर निस्कने गर्थे । कोही थिए फेरी उखुबारी को सबैभन्दा चिचिलो उखु लाई निर्ममता पूर्वक निमोठ्थे । भाँच्न पनि सजिलो, नङ्ग्याउन पनि सजिलो रस चुस्न पनि कमलो मानेर होला भर्खर बाह्र पन्ध्र आँख्ला लागेका साना लाँक्रा चोर्दै भाँचेर रमाउनेहरू पनि थिए।
चोरहरू कस्ता हुने भने आफूले उखुबारी बाट भाँचेर ल्याएपछि आधा आफूले खाने र आधा साथी सँग बाँडेर खाने समेत गर्दा रहेछन् ! अस्ति भर्खरको कुरा हो एक जना उखु चोरले यौटा चिचिलो उखु भाँचेर खाएछ अनि आफ्नो साथीलाई भनेछ -यो गज्जब रसिलो छ तँ पनि खाएर हेर -दोस्रो चोरले झम्टिएर त्यही उखु चुस्न थालेछ !! दुर्भाग्य भनौँ कि के भनौँ त्यही बेलामा जुठो उखु चुस्दा चुस्दै उ पक्राउ परेछ र सजाय पाएछ।
अब समाजमा बहस चलिरहेको छ "भन्नुस् यहाँ दोष पहिलो उखु चोर को हुन्छ कि पछि जुठो उखु चुस्ने चोर को हुन्छ ?" भन्ने विषयमा !! यहाँ उखु चोरले पाउने सजायमा पछुताउने धेरै देखिए तर देखेन कसैले चिचिलो अवस्थामै निमोठिएको यौटा निर्दोष उखु को अवस्था !!
।कथाकार "अज्ञात"।
No comments:
Post a Comment